अप्रिलमा फुल्ने सुनगाभा हेर्न नेपाल र भारतका श्रद्धालुहरू किन ओइरिन्छन्

माली दिदीबहिनी प्रति समर्पित ऐतिहासिक स्थल जोसँग सलहेस पूर्वी नेपालको सिरहा जिल्लास्थित सलहेस फूलबारीमा भेट्ने गर्दथिए। तस्वीर: संजीव चौधरी।

पूर्वी नेपालको सिरहास्थित ऐतिहासिक तथा सांस्कृतिक महत्वको वाटिकामा मध्य अप्रिलको वरिपरि फुल्ने सुनगाभाले हरेक वर्ष भारत र नेपाल दुवै देशका लाखौं श्रद्धालुहरूलाई आकर्षित गर्दछ

सलहेस फूलबारी भनेर चिनिने वाटिका क्षेत्रको स्थानीय वासिन्दाहरू उक्त्त फूल नववर्षको पहिलो दिन, वैशाख १ गते (नेपाली पात्रो अनुसार वर्षको पहिलो महिना) फुल्ने गर्छ भन्ने विश्वास गर्दछन्।पौराणिक कथा अनुसार, सुनगाभाले लोक नायक सलहेसलाई आफ्नो प्रेमिका मालिन (महिला मालीलाई प्रयोग गरिने एक मैथिली शब्द) द्वारा अर्पित पुष्पहारको प्रतीक जनाउँछ।

चित्ताकर्षक लोकगाथा, सांस्कृतिक महापुरुष

सलहेसका बारेमा धेरै लेखिएको छैन, उनलाई शैलेश (पर्वतका राजा) र जयवर्द्वन भनेर पनि चिन्ने गरिन्छ।यद्यपि, पूर्वी नेपालको दक्षिणी समतल भूमिहरूमा र सिमानामा पर्ने भारतको बिहार राज्यमा सलहेस र उनका साहसिक गाथाहरू चित्रण गरिएको कथाहरुका लोकगाथा पाइन्छन्। सलहेसका पराक्रम र मालिनसँगको उनको प्रेम बारेमा लोक कथाका विभिन्न रुपहरू एक पीढीबाट अर्को पीढीमा हस्तान्तरण भयो।

एक पौराणिक कथा अनुसार, सलहेस स्नान गरिसकेपश्चात धार्मिक अनुष्ठानमा प्रयोग गर्नको निमित्त फूल टिप्न सलहेस फूलबारी जाने गर्दथिए। उनी उक्त्त फूलबारीको चार दिदीबहिनीहरूलाई भेट्थे र यही क्रममा तीमध्ये एकजनासँग उनको प्रेम बस्यो। स्थानीय वासिन्दाका अनुसार, हरेक वर्ष मध्य अप्रिलमा फुल्ने सुनगाभा उनीहरुको  प्रेमको प्रतीक मानिन्छ। युवा जोडीहरू नेपाली नववर्षको दिनमा आफ्ना मनोकामना पूर्ण गर्न तथा सलहेस र उनका माली प्रेमिकाको जस्तै प्रेम अमर रहोस् भन्ने चाहना लिएर वाटिका जाने गर्दछन्।

सलहेस बारेका कथा अनुसार, उनी तथाकथित तल्लो वर्ग मानिने दुसाध समुदायका थिए। यद्यपि, उनी दनुवार थिए भन्ने दाबी पनि दनुवार समुदायले गरेका छन्। तर सलहेसलाई सबै वर्ग र जातिले समान श्रद्धा र निष्ठाकासाथ पूजा गर्दछन्। समयसँगै उनी एक दलित नायकबाट सबै समुदायका लागि महापुरुष बने।

पौराणिक कथा विपरीत विज्ञान

हरेक वर्ष लाखौं श्रद्धालुहरू फूलको एक झलक पाउन र सलहेस तथा मालिनको पूजा-अर्चना गर्न सलहेस फूलबारी ओइरिने गरे तापनि उक्त्त फूलबारे विज्ञानले अरु नै कारण मान्दछ।

स्थानीय वासिन्दाले फूल वैशाख १ गते बिहानै फुलेर साँझमा ओइलिन्छ भनेर दाबी गरे तापनि नववर्षको शुरुआत अगाडि नै सुनगाभा फुलेको देखिन्छ।

सुनगाभाको यो तस्विर नववर्ष वैशाख १ गतेभन्दा ४ दिन अगाडि खिचिएको हो। तस्वीर:संजीव चौधरी।

नेपाल सरकारकोवनस्पति विभागले उक्त्त फूललाई डेन्ड्रोबियम एफिलम (आरओएक्सबी.) सी. ई. सी. फिस्च , सुनगाभा र स्थानीय रुपमा हारमको रुख भनेर चिनिने उक्त्त फूल फुल्ने रुखलाई बिस्चोफिया जाभानिका  ब्ल्यूम वा बिसपउड हो भन्ने पहिचान गरेको छ ।

फणाकार सुनगाभा भनेर पनि चिनिने यस प्रजातिलाई दक्षिणी भारतमा विलियम रोक्सबर्गले पत्ता लगाएका थिए। यो फूल भारत, नेपाल, भुटान, बर्मा, चीन, थाईल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम र मलेसियामा पाइन्छ।

फूलको प्रजाति र उक्त्त फूलको सलहेस फूलबारीमा फुल्ने तथा ओइलाउने समय बारेको मिथक तोडिए पनि महापुरुष सलहेस प्रतिको श्रद्धा र भक्तिभावले गर्दा मानिसहरू नेपाली नव वर्षको अघि पछि पनि वाटिका भ्रमण गर्दछन्। र उनीहरू यस अनौठो तथा प्रसिद्ध फूल नेपाली नव वर्षको पहिलो दिन मात्र बिहानै फुलेर साँझमा ओइलाउने आफ्ना विश्वासको आधारमा सलहेस फुलबारी गइरहने छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.