कसुरमा बलात्कारपश्चात् हत्या गरिएकी सात वर्षीया जैनाबका लागि न्यायको माग गर्दै पाकिस्तानीहरू

इन्स्टाग्राममा #JusticeForZainab (जैनाबका लागि न्याय) ह्याशट्यागअन्तर्गत भेटिएका केही फोटोका स्क्रीनशट।

सात वर्षीया बालिका जैनाबको अपहरण, बलात्कार र हत्याविरुद्ध पाकिस्तानका जनताले तुरुन्तै न्याय तथा अभियुक्तलाई कडाभन्दा कडा सजाय को माग गरेका छन्।

अपहरणको चार दिनपश्चात् जनवरी ९ का दिन पंजाब प्रान्तको कसुर जिल्लाको फोहोरमैला फालिने ठाउँमा जैनाब अन्सारी भेटिएकी थिइन्। पोस्टमार्टम रिपोर्टका अनुसार उनलाई बलात्कार गरी घाँटी थिचेर मारिएको थियो।

यस समाचारले कसुरमा मुठभेड निम्त्यायो जसमा दुई जनाले ज्यान गुमाए र कैयौं घाइते भए। फरार बलात्कारी तथा हत्यारालाई तुरुन्तै पक्रने माग गरिरहेका क्रुद्ध प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाउँदा यो घटना घट्यो।

त्यसको लगत्तै देशभरि प्रदर्शन फैलियो र जनवरी ११ का दिन विद्यार्थी, वकिल तथा अन्य पाकिस्तानीहरू निकायहरूलाई दबाब दिइरहनका निम्ति सडकमा उत्रिए।

जैनाबको मुद्दाले किन त्यस्तो व्यापक आक्रोश निम्त्यायो?

कसुरमा भएको हिंसात्मक प्रदर्शनको फुटेज, प्रदर्शनकारीमाथि प्रहरीको गोली प्रहार, जैनाबका बाबुआमाको भावुक अन्तरवार्ता, तथा सर्वसाधारणका लागि रिलीज गरिएको एउटा नचिनेको मानिसले जैनाबलाई हात समाई डोर्याउँदै लगेको सीसीटिभी फुटेजले पाकिस्तानीहरूलाई मर्माहत बनाएका छन्।

जैनाबको बलात्कारी र हत्याराको तस्वीर प्रष्ट देखिएको छ। ऊ किन अहिलेसम्म स्वतन्त्र घुमिराखेको छ? के यहाँका संस्था तथा निकायहरूले उसलाई समात्न सक्छन्? के हामी यस जनावरलाई समात्न र सार्वजनिक रूपमा दण्ड दिन सक्छौ? के हामी हाम्रा बालबालिकालाई सुरक्षित राख्न केही गर्न सक्छौ?

तर सुरुवातमा मासिहरूलाई के कारणले एकजुट भए? स्तम्भ लेखक तथा ब्लगर मोइद पिरजादाले संवाद तथा समझदारी प्रवर्धन गर्ने समाचारमूलक साइट ग्लोबल भिलेज स्पेशमा लेख्दै यसका कारण खुलाए:

12 young girls, have been raped and murdered in the last one year. Most cases have remained unresolved, and public points out that even when culprits are arrested police and judiciary are unable to convincingly punish them. Failure of Pakistan’s “Criminal Justice System” lies at the root of this public anger.

गत एक वर्षमा १२ बालिकाहरू बलात्कृत र हत्या गरिएका छन्। धेरै घटनाहरू समाधान भएका छैनन् र सर्वसाधारणले के औंल्याएका छन् भने अभियुक्तहरू समातिए पनि प्रहरी र न्यायालयले उनीहरूलाई प्रभावकारी ढंगले सजाय दिन सकेका छैनन्। पाकिस्तानको “आपराधिक कार्यवाही प्रणाली”को असफलता नै यस जनआक्रोशको मूल कारक हो।

गत वर्ष कसुरमा घटेका यौन आक्रमण तथा हत्यामध्ये जैनाबको मामिला १२ औं हो। यस जिल्लामा सन् २०१५ मा बालबालिकासम्बद्ध अश्लील साहित्य प्रकाशन गर्ने संगठित गिरोहको खुलासा भएको थियो, जैनाबको मामिलाले १० देखि १५ वर्षका ३०० जति बालबालिकालाई यौन दुर्व्यवहार गरी भिडियोटेप गरिएको दुर्भाग्यपूर्ण दुःखद घटनाको सम्झना गरायो।

जैनाबको अन्तिम गृहकार्य।

बालबालिकाको सुरक्षामा काम गर्ने गैरसरकारी संस्था साहिलले तयार पारेको विवरणअनुसार पाकिस्तानभरि प्रत्येक दिन बालबालिकाप्रति हुने यौन दुर्व्यवहारका औसतमा ११ घटनाहरू रिपोर्ट गरिन्छन्। यस संस्थाका अनुसार ६० प्रतिशतभन्दा बढी घटना पंजाबमा घटेका थिए।

सन् २०१६ मा पाकिस्तानको सिनेटले एउटा कानुन पास गर्यो जसले पहिलोपल्ट नाबालिगमाथि गरिने यौन आक्रमण, बालबालिकासम्बद्ध अश्लील साहित्य, र बेचबिखनलाई गैरकानुनी घोषित गर्यो। तर यस कानुनको कार्यान्वयन एक चुनौती रहिआएको छ किनकि यसका लागि स्रोत विनियोजन, कानुन प्रवर्तक निकायहरूलाई प्रशिक्षण तथा जनचेतनासम्बन्धी अभियानहरू संचालन गर्न जरुरी छ।

बालबालिकाको सुरक्षाका लागि राजनैतिक इच्छाशक्तिको कमी, बालबालिकालाई लैंगिकता तथा जीवनकलामा आधारित शिक्षा दिन समाजको तत्परतामा कमी, र पाकिस्तानमा रहेको अन्तर्निहित स्त्रीद्वेषले यस अवस्थालाई झन बिगारिरहेका छन्।

यी मामिलाहरूमा ध्यान पुर्याउनु जरुरी छ, तर सधैंका लागि अवस्था परिवर्तन नभएसम्म यसलाई दीगो राखिराख्नु त्यतिकै महत्वपूर्ण छ, अभिनेता तथा अधिकारकर्मी हम्जा अली अब्बासीले फेसबूकमा तर्क दिए झै:

There have been 11 Zainabs in Kasur last year, we forgot about them after a brief outrage! Now, will we force Police, Govts & Courts to act on the 12th Zainab or forget about this too after a few days & wait for a 13th Zainab to make us angry again?

गत वर्ष कसुरमा ११ जैनाबहरू पीडित भए, हामीले क्षणिक आक्रोशपश्चात् उनीहरूलाई बिर्स्यौ। के अब हामीले प्रहरी, सरकार र न्यायालयलाई १२ औं जैनाबको मामिलामा दबाब दिने कि योबारे पनि केही दिनमा बिर्सने अनि हामीलाई फेरि आक्रोशित बनाउन १३ औं जैनाबलाई कुर्ने?

जैनाबको लागि न्यायको (#JusticeforZainab) माग गर्दै सोसल मिडिया

यस घटनाले सडकमा आक्रोशित प्रदर्शन निम्त्याउँदै गर्दा पाँच लाख भन्दा बढी सोसल मिडिया प्रयोगकर्ताले #JusticeForZainab (जैनाबका लागि न्याय) ह्याशट्याग प्रयोग गरेका छन्।

यो ह्याशट्याग पहिलो पल्ट अधिकारकर्मीहरूद्वारा विपक्षी पार्टी पाकिस्तान अवामी तेहरिक (प्याट) का लागि प्रयोग गरिएको थियो, तर तुरुन्तै सर्वसाधारणले यसको प्रयोग गर्न थाले र प्रहरीद्वारा दुई प्रदर्शनकारी मारिएपछि यो विश्वभरि ट्रेन्डिङ्ग हुन थाल्यो।

अधिकारकर्मी तथा वकिल जिब्रान नासिरले पाकिस्तानमा यौन दुर्व्यवहारबारे बोल्नमा रहेको सामाजिक निषेध तोड्नेबारे कुरा गरे:

“यौन दुर्व्यवहारबारे बोलौं – यसबारे बोल्नमा रहेको सामाजिक निषेध तोडौं” जनचेतना तथा कानुनको कडा कार्यान्वयनमार्फत बालबालिकाको सुरक्षाको माग गर्दै विद्यार्थी, शिक्षक, मिडियाकर्मी तथा अधिकारकर्मीहरू आज कराँची प्रेस क्लबमा जम्मा भए।

केही व्यक्तिले बालबालिकालाई अधियुक्तविरुद्ध जाहेरी दिन शिक्षित गर्नुपर्नुे आवश्यकता रहेको प्रष्ट्याए:

जैनाबका लागि न्याय यौन दुराचारीविरुद्ध राष्ट्रव्यापी खोजतलास हुनुपर्छ। हामीले हाम्रा बालबालिकालाई दुर्व्यवहारबाट बचाउनु जरुरी छ। हामीलाई शैक्षिक कार्यक्रम, जनचेतना अभियान, प्रहरी कार्यक्रम, झन कठोर सजाय, हेल्पलाइनहरू – हुने कार्यहरू चाहिन्छ! उनको मृत्युले हाम्रो देशको लागि एउटा प्रस्थान विन्दूको काम गरोस्!

जैनाबको हत्यारा र बलात्कारीलाई वा अन्य बालबालिकाका हत्यारा र बलात्कारीलाई समाउनुमात्रले केही हुने छैन बल्कि हाम्रा बालबालकिालाई सुरक्षा दिनुपर्छ। र यो पहिला अभिभावक र पछि राष्ट्रको जिम्मेवारी हो जैनाबका लागि न्याय (#JusticeForZainab)

अन्यले जैनाबका लागि न्यायको माग गर्दै आफ्ना फोटो पोष्ट गरेका छन्:

सरकारले यसबारे कदम चाल्नुपर्ने माग गर्दै नोबेल शान्ति पुरस्कार विजेता तथा बालिकाहरूको शिक्षा अधिकारसम्बद्ध अधिकारकर्मी मलाला युसुफजाई पनि यस संवादमा सहभागी भएकी छिन्:

पाकिस्तानको कसुरमा यौन दुर्व्यवहार गरिएर क्रूरतापूर्वक मारिएकी ७ वर्षीय बालिका जैनाबबारे सुन्दा मर्माहत भएकी छु। यो रोकिनु पर्छ। सरकार तथा सम्बन्धित निकायले कदम चाल्नु जरुरी छ।

सबै बालबालिकाका लागि न्याय

सर्वसाधारणको ध्यान जैनाबको मामिलातिर केन्द्रित हुँदा पंजाबको फैसलाबादको एक शहर दिजकोटमा १५ वर्षीय बालक फैजानको शव खेतमा फालिएको अवस्थामा भेटियो। उनलाई पनि यौन आक्रमण गरी हत्या गरिएको थियो।

यो घटनाले बालबालिकाको सुरक्षा कति महत्वपूर्ण छ भन्ने कुरा सम्झायो।

सन् २०१२ को सामूहिक बलात्कारपछि छिमेकी भारत यौन दुर्व्यवहारप्रति खनिएको थियो। के जैनाबको बलात्कार र हत्याले पाकिस्तानलाई बालबालिकाको सुरक्षातर्फ केही गर्न अघि डोर्याउने छ? यसका लागि हामीले कुर्नु छ र हेर्नु छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.