
राजस्थान (भारत) को हिमाली गाउँहरुमा बसोबास गर्ने महिलाहरु खाना पकाउने दाउराका लागि ७० पाउण्ड (झण्डै ३२ किलोग्राम) तौलसम्मको काठ दिनहुँ आफ्नो टाउकोमा बोक्दछन् । चित्र Flickr by Engineering For Change बाट । CC BY-SA 2.0
यो आलेख भारतमा अवस्थित पुरस्कार विजेता अन्तर्राष्ट्रिय सामुदायिक मिडिया संस्था भिडियो भोलिन्टियर्स (Video Volunteers)मा पहिला प्रकाशित भएको थियो । विषयवस्तु सारफेर गर्ने सम्झौता अनुसार सम्पादित अंश यहाँ प्रकाशित गरिएको छ ।
संसारका अन्य ठाउँहरुमा जस्तै भारतमा पनि वनफँडानी पर्यावरणीय विनाशका प्रमुख स्रोतहरूमध्ये एक हो । हालैको एक अध्ययन अनुसार गएको आठ दशकमा भारतले २४३,४४७ वर्ग किलोमिटर (२८%) वनजंगल विनाशको शुद्ध नोक्सान भोग्नुपर्यो । वनविनाशका असरहरूले प्राकृति वासस्थान र संवेदनशील पर्यावरणीय प्रणालीलाई उन्मूलन पारेर, खडेरी, उष्णगर्मी वा लू र अन्य वातवरणीय विपद् निम्ताएर देशभरि अपुरणीय प्रभाव पारेको छ । वैज्ञानिक रिपोर्टहरूमा प्रकाशित एक अध्ययनका अनुसार विगत केही दशकहरूमा भएको वनविनाशले भारतमा हुने वर्षामा उल्लेखनीय कमी ल्याएको छ ।
स्थानीय जनसंख्या बृद्धिको कारणले उब्जिएको बढ्दो खाद्य आवश्यकतालाई सम्बोधन गर्न हरेक वर्ष भारतका धेरैभन्दा धेरै वनक्षेत्रहरू खेतमा परिणत हुँदैछन् । व्यापारिक प्रयोजनका लागि काठको ओसारपसार, खनिज उद्योग, शहरीकरण र औद्योगिकीकरण वनविनाशका अन्य थप कारणहरू हुन् । प्रान्तीय सरकारको सडक चौडापार्ने कार्य र पूर्वाधार विकासका परियोजनाहरूका लागि भारतको झारखंड राज्यभरि हजारौँ रुखहरू काटिएको भिडियो भोलिन्टियर्सकी सामुदायिक संवाददाता अमिता टुट्टीले तयार पारेको यस वृत्तचित्रले देखाउँछ । अरु थुप्रै सदियौँ पुराना रुखहरूले यस्तै भाग्यको सामना गर्नेछन् ।
केही नागरिक संगठनहरू सहित जनताहरूले सडक निर्माणका लागि रुखको विनाश गर्ने कार्यको विरोध गरेका छन् । “ती रुखहरूले सवार र पैदलयात्रीहरूलाई उच्च गर्मीयाममा छायाँ (शीतलता) प्रदान गर्नेथिए,” भन्छिन्, खूंटी निवसी पिंकी कुमारी ।
सरकारी अधिकारीहरूले सडकविस्तारका लागि अनुमति लिएको बताएका छन् भने एक पैरवीकर्ता ती अधिकारीहरूले मुनाफाका लागि काष्ठउद्योगलाई लडेका वा काटिएका रुखहरू बेच्ने गरेको बताउँछन् ।
In Junagarh. India. This morning. Sad. Deforestation. pic.twitter.com/E5FRdHAjQE
— shriny (@shriny) December 19, 2016
जूनागढ़, भारतमा । आज बिहानी । दु:खद् । वनविनाश ।
खूंटीका वासिन्दाहरूले रैथाने विरुवाहरू रोप्न र जिल्लाका हरितक्षेत्र जोगाउन अनुरोध गरेका छन् । गएको जुलाइ (वा असार/साउन) मा छिमेकी राज्य उत्तर प्रदेशका ८००,००० नागरिकहरूले वनविनाशका विरुद्ध २४ घण्टामा ४ करोड ९० लाख विरुवाहरू रोपे । शहरीकरण र विकासका कारणले नोक्सान भएका रुखहरूको पूर्ति गर्न यस्तै अरु प्रयत्नहरू भारतलाई चाहिन्छ ।