विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

वर्ष साहसी व्यक्ति मीरा राईको जीवनी – बाल सैनिकदेखि अल्ट्रा रनरसम्मको यात्रा

नेपालकी ट्रेल रनर मीरा राई। तस्वीर: फ्लिकर प्रयोगकर्ता rpb1001. CC-BY-NC-ND 2.0.

एन्नी बेली को यो लेख अप्रिल १७, २०१७ मा पहिलो पटक पिआरआइ डट ओआरजीमा प्रकाशित भएको थियो । यस लेखलाई पिआरआइ र ग्लोबल भ्वाइसेजबीचको साझेदारी अनुरुप यहाँ पुन:प्रकाशित गरिएको छ।

मीरा राईलाई तीन वर्ष पहिले माउन्टेन ट्रेल रनिङ एक खेल हो भन्ने थाहा थिएन।

ग्रामीण नेपालकी पूर्व माओवादी लडाकु अहिले उच्च-उचाइमा हुने लामो दूरीको दौडमा संसारको धावकहरुमध्ये एक अब्बल धाविका हुन्।

र उनी भर्खरै शुरुआत गरिरहेकी छिन्।

राई काठमाडौंस्थित आफ्नो घरमा एउटा काँचको डिब्बाबाट ट्रफी झिक्छिन्। मैले उनलाई नेपालमा सम्पन्न पहिलो ट्रेल रनिङ रेसको आफ्नो ट्रफी देखाउन अनुरोध गर्छु। यस ट्रेल रनिङ रेसले तीन वर्ष पहिले उनको पेशा आरम्भ गरायो, तर त्यस वेला कुनै पनि पुरस्कार नभएको उनी भन्छिन्।

“ट्रफी छैन,” उनी हाँस्छिन् ।

काठमाडौं बाहिर भएको त्यस ५० किलोमिटर ( लगभग ३१ माइल ) माउन्टेन ट्रेल रेसमा राईले भाग लिएको दिन उनलाई के गर्न गइरहेको छु भन्ने नै थाहा थिएन।

“यो दौड तालिम होला सोचेर म त्यहाँ गएकी थिएँ,” राई भन्छिन्। “मलाई यो दौड हो भन्ने थाहा थिएन। मसँग एउटा टि-सर्ट र पैन्ट मात्र थियो। अन्य धावकहरुसँग झोला साथै खानेकुरा थियो, मसँग केही थिएन। तर म दौडे र दौडे मात्र ।“

केही घण्टापछि राई पहिलो भइन् र अन्तिम रेखा पार गर्ने एक मात्र महिला बनिन्। “म लगातार दौडे मात्र अनि त्यसपछि के भयो थाहा भएन, तर मैले जितें!”

एक महिना पछि उनी १८० किलोमिटर मुस्ताङ ट्रेल रेस नेपालमा सहभागी बनिन् – त्यो लगभग ११२ माइल जति हो – र फेरि जितिन्। त्यसपछि उनी हङकङ, इटली र फ्रान्समा भएका दौडमा प्रथम भइन्। एक वर्षपछि उनले सालोमनसँग एउटा प्रचार सम्झौता गरिन् र एक पुरस्कार विजेता वृत्तचित्र “मीरा” को विषयवस्तु बनिन्।

जनवरीमा उनले नेशनल जियोग्राफिकको एडभेन्चरर अफ द इयरको लागि मत प्राप्त गरिन्। उनी २९ वर्षकी मात्र छिन्।

यो उनी आफुले कल्पना गरेको जीवन थिएन।

धेरै ग्रामीण नेपाली जस्तै राई गरिब परिवारमा हुर्किन्। आफ्नो परिवारलाई सहयोग पुर्याउन १२ वर्षको उमेरमा नै उनले विद्यालय छाडिन्। उनी चामलको भारी बोकेर अप्ठ्यारो बाटो हुँदै कैयौ माइल टाढाको स्थानीय बजारसम्म पुग्ने गर्थिन्।

“काम कठिन थियो,” राई भन्छिन्। “ठाडो भिरालो भएकाले त्यहाँ प्रशस्त खेती हुँदैन थियो। हामीलाई छ महिना मात्र खान पुग्थ्यो, छ महिना खानको लागि केही हुन्न थियो।”

पहाडै पहाड भएको उनको गाउँमा वर्षदेखि माओवादी विद्रोह चर्किरहेको थियो। सशस्त्र विद्रोहीहरु नेपाली राजतन्त्र ढलाउन र गणतन्त्र स्थापना गर्न लडिरहेका थिए।

त्यसैले जब माओवादी २००२ मा आफ्नो समूहमा भर्ती गर्न उनको गाउँ आए, राई माओवादीमा लागिन्। त्यसबेला उनी १४ वर्षकी थिइन्।

जब माओवादी २००२ मा आफ्नो समूहमा भर्ती गर्न राईको गाउँ आए, राई १४ वर्षकी मात्र थिइन्। आफ्नो र आफ्नो भाइ बहिनीको निम्ति सुन्दर जीवनको आशामा उनी माओवादीमा लागिन्। साभार: एन्नी बेली

“म माओवादीमा उनीहरुको इरादा वा राजनीति बुझेर त्यहाँ लागेकी नभएर केही गर्नको लागि भन्ने चाहनाले गएकी थिएँ,” उनी भन्छिन्।

राईले यसलाई आफ्नो भाइ बहिनीहरूको लागि साथै आफ्नो लागि सहयोग पुग्ने देखिन्।

“मेरो गाउँमा केटीहरुलाई महत्व दिइन्न थियो। तर माओवादीहरु सधैं समानताको कुरा गर्दथिए, जुन मैले आफ्नो जीवनमा चाहे जस्तै थियो। त्यसैले मैले मेरो पढाई छाडे र माओवादीमा लागें किनकि तालिमपश्चात केही बन्न सक्छु भन्ने सोचें। अनि धेरै नयाँ कौशल सिक्दैमा ठिक्क भयो।”

जस्तो कि आक्रमणमा कसरी हतियार चलाउने। उनी कराँतेमा पनि ब्ल्याक बेल्ट भइन् साथै दौडमा उत्कृष्टता हासिल गरिन्।

राईले आफ्नी आमालाई हिंड्ने बेलामा भनिन् उनी एक हप्ताको लागि जाँदैछिन्। दुई वर्षभन्दा बढी भयो। बाबा र काकाले उनको खोजी गरे। उनको आमाले त आत्महत्या गर्ने प्रयास समेत गरिन्।

“जब म त्यो क्षण सम्झन्छु म रोइरहेको जस्तो अनुभव गर्छु,” उनी भन्छिन्। “यो धेरै कठिन थियो। मेरो कारणले मेरो आमा त्यो हदसम्म पुगेको कहिले चाँहदिन थिए।”

संयुक्त राष्ट्र संघको मध्यस्थतामा शान्ति सम्झौता भएपछि २००६ मा जब सशस्त्र द्वन्द्व समाप्त भयो, त्यसबेला राई १७ वर्षकी थिइन्। उनले नेपाली सेनामा एक सैनिकको रुपमा जारी रहनेछु सोचिन् तर उनको उमेर पुगेन। त्यसैले उनी आफ्नो गाउँ फर्किन्, उदास बनेर। यध्यपि उनी माओवादी क्याम्पको आफ्नो कराँते प्रशिक्षकसँग संपर्कमा रहिन्, आफुलाई शारीरिक रुपमा फिट राख्न केन्द्रित गर्दै।

अन्ततः प्रशिक्षकले आफ्नो काठमाडौंस्थित घरमा परिवारसँग बस्ने निमन्त्रणा दिए। अहिले उनी हरेक बिहान ६ बजे डोजोमा अभ्यास गर्छिन्।

एक ब्ल्याक बेल्ट युवा काठमाडौंस्थित कराँते डोजोमा राईलाई कराँते काता सिकाउँदै जहाँ उनी हरेक दिन अभ्यास गर्छिन्। साभार: एन्नी बेली

उनी आफ्नो कराँते प्रशिक्षकलाई “गुरु” भनेर सम्बोधन गर्छिन् र गुरुले नै मलाई अगाडि बढ्न प्रेरणा दिनुहुन्छ भन्छिन्। केही माइल टाढा नेपाली बालिकाहरुको एक समूहले मीरा राईको बारेमा त्यँही कुरा भन्छन्।

एक स्थानीय रनिङ क्लबमा बालिकाहरु किन उनीहरु दौडन मन पराउँछन् भनेर मलाई सुनाउँछन्। उनीहरुको क्लबमा गएको दिन राईले उनीहरुलाई के भन्छिन् त?

“हामीलाई कहिल्यै हार नमान्नु भन्नुभयो,” एउटी बालिकाले सुनाइन्। “साथै दौडनु हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हो भन्नुभयो।”

हिमालयन चिल्ड्रेन फाउण्डेसन रनिङ क्लब काठमाडौं, नेपालको बालिकाहरु भन्छन् उनीहरु खेलकुदमा मीरा राईले पाएको सफलता देखि प्रेरित छन्। साभार: एन्नी बेली

नेपालमा बालिकाहरुलाई खेलकुदमा लाग्न सजिलो छ त भनेर मैले रनिङ क्लबमा सोधें। उनीहरु सबैले मुन्टो हल्लाए: छैन।

राईलाई थाहा छ खेलकुदले मात्र नेपालको रूढिवादी समाजमा परिवर्तन ल्याउन सक्दैन – विशेष गरी ग्रामीण क्षेत्रमा।

“हामी महिला भएकोले नै हामीलाई पछाडि परेको मानिन्छ,” राई भन्छिन्। “तर हामी पछाडि छैनौ। हामी खेलकुदमा संलग्न हुनुपर्छ, अनि खेलकुदबाट नै हाम्रो देशलाई चिनाउनुपर्छ।”

दुर्भाग्य, नेपाल सरकारले राईको सफलतालाई मुश्किलले स्वीकार गरेको छ र उच्च भूभागमा हुने दौडलाई एउटा खेलकुदको रुपमा लिएको छैन।

“उच्च भूभागमा हुने दौडलाई एक खेल हो भनेर सबैले भन्दछन् तर दु:खको कुरा मेरो आफ्नै देशमा सरकारले यसलाई पहिचान गर्दैन,” उनी भन्छिन्।

तर सामान्य झैं राई हरेस मानेकी छैनन्।

“म नेपालमा साना बहिनीहरुलाई मैले पाएको मौका स्थानान्तरण गर्न चाहन्छु। मैले जे सिके र आज म जहाँ छु त्यो म उनीहरुलाई सिकाउन चाहन्छु,” उनी भन्छिन्। “म उनीहरुको नाम एकदिन मेरोभन्दा महान भएको हेर्न चाहन्छु।”

आउडसाइड म्यागजिन कभर मे २०१७ का लागि मीरा राई अन्य नौ प्रभावशाली महिला खेलाडीहरुसँगसँगै उभिदै। साभार: एन्नी बेली

मीरा राईको बारेमा थप कथाको लागि फ्रम भिलेज गर्ल टु वर्ल्ड अल्ट्रा म्याराथन च्याम्पियन: द इन्स्पाइरिङ् स्टोरी अफ नेपाल्स मीरा राई ग्लोबल भ्वाइसेजका लेखक संजीव चौधरीको लेख पढ्नुहोस्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.