ब्राजिल अझ पनि राफाएला सिल्भाले जुडोमा प्राप्त गरेको स्वर्णपदकका लागि श्रद्धा र विस्मयमा छ। यस ओलम्पिकमा आयोजक राष्ट्रका लागि यो पहिलो स्वर्ण थियो। तर ब्राजिलबाहिरका धेरैले शायद सन् २०१२ मा लण्डन ओलम्पिक्समा अयोग्य साबित भएपछि उनले भोगेको नस्लवादी दुव्र्यवहार बिर्सिसकेका छन् होला।
राफाएला सन् २००२ को फिल्म [2] सिटी अफ गडले प्रख्यात बनाएको रियो डे जेनिरोको सुकुम्बासी बस्ती सिदाजी जी दियोसकी एक गरीब परिवारमा हुर्किइन्। उनकी दिदी रकेल सिल्भासँगै उनले ८ वर्षको उमेरदेखि सामाजिक परियोजनाअन्तर्गत इन्सतित्युतो रेआसाओमा जुडो सिक्न शुरु गरिन्। यस सामाजिक परियोजनाको थालनी भूतपूर्व ब्राजिलियन जुडोका फ्लाभियो कान्तोले गरेका थिए। उनले सन् २००४ मा एथेन्समा काँस्यपदक जितेका थिए।
१९ वर्षको उमेरमा उनले पहिलो पटक लण्डनमा आयोजित ओलम्पिक्समा प्रतिस्पर्धा गरिन्। छनौट राउण्डका दौरान हंगेरियन जुडोका हेड्विग काराकाससँगको प्रतिस्पर्धामा अयोग्य साबित भएकी थिइन्। उनी त्यसबेला परिवर्तन गरिएको नियमअनुसार अवैध मानिएको चालका कारण अयोग्य घोषित भएकी थिइन्। उनले त्यसबेला रुँदै प्रतिस्पर्धास्थल छाडेकी थिइन्। “म मेरो कोठातर्फ गए र फोनमा केही सान्त्वनाका सन्देश खोज्दै थिए,” उनले जनवरीमा एक स्थानीय टिभी च्यानल ग्लोबो स्पेक्टाकुलरलाई अन्तर्वार्ता दिंदै भनिन् [3]। तर उनले त्यहाँ उनीतर्फ लक्षित नस्लवादी दुव्र्यवहार र अपशब्दमात्र भेटिन्।
ब्राजिलियन वेबसाइट सेन्सेसियनालिष्टा [4]ले ती ट्वीट संकलन गरेको छ (शायद यीमध्ये धेरै डिलिट गरिसकिएका छन्)।
राफाएलाले त्यसबेला रिपोर्टरहरूलाई आफ्नो ट्वीटर फीड देखाइन् [5]। ती ट्वीटमध्ये एक: “बाँदरका लागि पिंजडा उचित स्थान हो न कि ओलम्पिक्स।”
सन् २०१२ को दुव्र्यवहारपश्चात् उनी जुडो छाड्न दृढसंकल्परत थिइन्। उनकी लामो समयदेखिका कोच जेराल्डो बर्नार्डेसका अनुसार [6] रियो डे जेनिरोका गल्लीहरूमा अरुले उनलाई चिन्लान् र गालीगलौज गर्लान् भनेर केही समयका लागि उनी घरबाट सकेसम्म निस्कन चाहन्न थिइन्। केही महिनाको मनोवैज्ञानिक उपचारपश्चात् उनले सन् २०१३ मा आफ्नो खुट्टामा उभिने निर्णय गरिन्। उनले जुडो वल्र्ड च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्ने निर्णय गरिन् र आफ्नो वर्गमा विजयी भइन्।
चार वर्षपछि उनको हालैको विजयपश्चात् राफाएलाले एक भावुक अन्तर्वार्ता दिंदै भनिन्, [7] “मेरो हारपश्चात् सबैले मेरो आलोचना गरे। उनीहरूले भने जुडो मेरोलागि हैन, यो मेरो परिवारको लागि लज्जाको विषय हो। अहिले म आफ्नै घरमा ओलम्पिक च्याम्पियन भएकी छु।”