- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

मकस्सार, इण्डोनेशियामा पत्रकार दम्पतीमाथि आक्रमण

श्रेणी : पूर्व एशिया, इन्डोनेशिया, नागरिक मिडिया, मानव अधिकार, मिडिया र पत्रकारिता, राजनीति, सेन्सरशीप, GV Advocacy
Arpan Rachman and Icha Lamboge covering security during electi;ons in Makassar.

अर्पण रहमान र इचा लम्बोगे मकस्सारमा भएको चुनावको समाचार संकलन गर्दै। फोटो साभार: अर्पण रहमान।

जुन ५, २०१६ का दिन इण्डोनेशियाको दक्षिण सुलावेसी क्षेत्रको मकस्सारमा कार्यरत दुई डिजिटल पत्रकार इस्लामिक स्टुडेन्ट्स अलुम्नाइको मकस्सार शाखा (काहमी मकस्सार) द्वारा मकस्सारका मेयरको घरमा आयोजित कार्यक्रममा सहभागी भएका बेला आक्रमणमा परे।

ग्लोबल भ्वाइसेजका लेखक अर्पण रहमान र उनकी पत्रकार श्रीमती इचा लम्बोगेले ग्लोबल भ्वाइसेजलाई जानकारी दिएअनुसार कालो पोशाक लगाएका दुई व्यक्तिले उनीहरूलाई रोकेर पत्रकार परिचयपत्र मागे। उनीहरूले लगाएको पोशाक शहरी सेक्युरिटी गार्डले लगाउने स्ट्याण्डर्ड पोशाकभन्दा फरक थियो। ती मानिसहरूले उनीहरूलाई त्यस घरपछाडिको एउटा सानो कोठामा लगे जहाँ अर्पणले उनीहरूसँग परिचय माँगे तर उनीहरूले परिचय दिन नकारे। त्यसपछि उनीहरूमध्ये एकजनाले लम्बोगेको रिपोर्टिङ्गको मुख्य साधन उनको मोबाइल फोन खोस्यो। जब रहमानले हस्तक्षेप गर्न खोजे र उनको फोन फिर्ता लिन खोजे त्यस व्यक्तिले उनलाई समातेर छातीमा मुक्का प्रहार गर्यो र अर्को व्यक्तिले घाटी थिच्यो।

रहमान दम्पतीले उक्त घटनालाई पुलिसमा रिपोर्ट गरे र रहमानलाई डाक्टरले परिक्षण गरे। उनी त्यस घटनाबाट सामान्यतातर्फ फर्कदै छन्, यद्यपि उनी र उनकी श्रीमती दुवै आफ्नो सुरुक्षाका लागि चिन्तित छन्।

द अलायन्स फर इन्डिपेन्डेन्ट जर्नालिस्ट्स इन मकस्सारले २०१६ को हालसम्म पत्रकारविरुद्ध दुव्र्यवहार [1]का १२ घटनाहरू दर्ता गरेको छ। यसमा रिपोर्टिङ्गका बेला गरिने दुव्र्यवहार, रिपोर्टिङ्गका साधन ध्वस्त पारिने, धम्क्याउने तथा भौतिक कारवाही आदि संलग्न छन्। न त काहमी, एजेआइ न मकस्सारका अधिकारीहरूले रहमान र लम्बोगेमाथिको आक्रमणसम्बन्धित कुनै वक्तव्य निकालेका छन्।

Arpan Rachman and Icha Lamboge covering the aftermath of elections, when the Palopo Mayor's office was burned. Photo courtesy of Arpan Rachman.

अर्पण रहमान र इचा लम्बोगे चुनावपश्चात् पालोपो मेयरको कार्यालय जलाइएपछि समाचार संकलन गर्दै। फोटो साभार: अर्पण रहमान।

त्यसको लगत्तै लम्बोगेले त्यस घटनालाई “खारेज गरिने तथा बिर्सिइने, वा रेकर्डलाई बंग्याइने काम हुनसक्ने” चिन्ता व्यक्त गरिन्। उनीहरूले त्यसपश्चात् लीगल एड फाउण्डेशन मकस्सारबाट कानुनी प्रतिनिधित्व हाशिल गरेका छन् तर उनीहरूको मुद्दाबारे अन्यौल नै छ। उनीहरू भौतिक सुरुक्षाका लागि निरन्तर चिन्तित छन्।

दुवै पत्रकारका रुपमा सक्रियतापूर्वक कार्यरत छन्। लम्बोगे मुख्यतया जकार्ताअवस्थित सिन्दो त्रिजाया एफएममा काम गर्छिन् र रहमान अनुसन्धानकर्ता पत्रकारका रुपमा बाक्तीन्यूज [2], इन्सपिरातिफन्यूज [3], मेम्बुनुह इण्डोनेशिया [4] तथा मिडिया लिङ्गकुङ्गान [5]समेत कैंयन स्थानीय समाचार केन्द्रमा काम गर्छन्।

रहमान दम्पतीले सँगै काम गरेका समाचारहरूले त्यो घटनालाई बढावा दिएको हुनसक्ने उनीहरूले शंका गरेका छन्। उनीहरूले मानव अधिकारसम्बन्धी पत्रिका टर्चर: एशियन एण्ड ग्लोबल पर्सपेक्टिभ्स [6]को हालैको प्रिन्ट संस्करणका लागि मध्य मकस्सारको बुलोगादिङ्ग क्षेत्रमा भइरहेको विवादास्पद व्यापक निष्काशनका बारेमा लेखेका थिए। तनाव बढ्दै गएपछि सो निष्काशनसम्बन्धी कम्तिमा एकभन्दा बढी अनलाइन समाचार हटाइएको छ।

इण्डोनेशियामा पत्रकारविरुद्ध हिंसा नियमित भइरहन्छ। यस प्रकारका आक्रमण मिडियामा प्राय रिपोर्ट गरिदैन र दोषीहरू प्राय दण्डित हुँदैनन्।

अर्पण र इचाको प्रकरण एक स्थानीय अनलाइन समाचार साइटले प्रकाशित गरेको थियो तर त्यो समाचार अज्ञात कारणले पछि हटाइएको थियो।

ग्लोबल भ्वाइसेज समुदायले इण्डोनेशिया र विश्वको जुनसुकै ठाउँमा पत्रकारविरुद्ध हुने सबै प्रकारका हिंसाको निन्दा गर्दछ। समुदायका रुपमा हामी हाम्रा सहकर्मी अर्पण र उनको परिवारले सत्यता र न्यायको लागि गरेको अपिलको समर्थन गर्दछौं।