विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

नेपालका पुराना फोटोहरूका लागि ट्वीटरमा नेपाल इन पिक्सलाई पछ्याउनुहोस्

People carrying the first car to the Kathmandu Valley. Image via Twitter /NepalInPix

भरियाहरू पहिलो कार काठमाडौं उपत्यकातर्फ लग्दै। तस्वीर: नेपाल इन पिक्स

इतिहासमा नेपाल विदेशी यात्रीहरूका लागि सदैव रहस्यमयी देशका रुपमा रहिआएको छ। विश्वका सर्वोच्च हिमालहरू रहेका अग्ला हिमालय, दुर्लभ रीतिरिवाजयुक्त मध्य पहाड तथा उपत्यकाहरू, तथा घना जंगल र जंगली जनावरहरू भएका दक्षिणी समथर भूभागले जिज्ञासु पर्यटकहरूलाई सदैव यस भूपरिवेष्ठित मुलुकतर्फ आकर्षित गर्ने गरेका छन्।

नेपाल आधुनिक विकासबाट अछूतो रहेको छैन, तथापि केही दशकअघि मात्र खिचिंएका तस्वीरहरूले तपाईंलाई अन्यत्रै लग्नेछन्। ट्वीटरमा नेपाल इन पिक्स नामक अकाउन्टले त्यसबेलाको रहनसहन र जनजीवन दर्शाउने तस्वीरहरू प्रकाशित गर्दछ।

सर्वप्रथम नेपालको सरकारी सेवा प्रवेशका लागि लिइने लोक सेवा आयोगको परिक्षा दिइरहेका परिक्षार्थीहरूको फोटो हेरौं। पश्चिम नेपालको लम्जुङ जिल्लाको खुला चौरमा संचालित परिक्षा।

सन् १९७५ मा लम्जुङको खुला चौरमा लोक सेवा आयोगको परिक्षा दिइरहेका नेपाली युवा #Nepal

सन् १९८० ताका टेलिभिजन दुर्लभ थियो। यस तस्वीरले काठमाडौंको गल्लीमा युवाहरूले टेलिभिजन देखाएर फोटो खिंचाइरहेको देखाउँछ।

सन् १९८७ मा नेवार युवाहरू आफ्नो पहिलो टिभी घर ल्याउँदै।#Nepal

सन् १९९० ताका हिप्पीहरू काठमाडौं उपत्यकामा ओइरिन्थे। गाँजा र चरेस यहाँ वैधरुपले बेचिन्थ्यो साथै काठमाडौं दरबार स्क्वायरनजिकको एउटा गल्लीलाई ‘फ्रिक स्ट्रीट‘ नाम दिइएको थियो।

सन् १९६० ताका नेपालमा गाँजा वैध थियो।

तलको फोटोले त्यसबेलाको काठमाडौंमा हुने पार्टीको झझल्को दिन्छ र साथै त्यसबेला युवाहरूमाझ चलेको फेशन देखाउँछ:

सन् १९६९ को झै पार्टी गर्ने समय।#Nepal

राजतन्त्रको बेला राजारानी आस्थाका केन्द्र मानिन्थे र जनताहरू उनीहरूको एक झलकका लागि क्रमबद्ध भई पर्खिबस्थे।

सन् १९७८ मा जुम्ला बजारमा राजारानीको आगमन कुरेर बस्दै मानिसहरू।#Nepal

त्यतिबेला काठमाडौंको मुटुमा रहेको दरबार स्क्वायर जाने केही वाहनहरूमात्र गुड्ने नयाँ सडक साच्चिकै नयाँ थियो।

६० वर्षअघिको नयाँ सडक, काठमाडौं।#Nepal

धनी र शक्तिशालीसँग मात्र हुने कार सर्वसाधारणका लागि दुर्लभ थियो र साथै कार डीलर पनि। तलको तस्वीरमा एउटा त्यस्तै कार डीलर देखाइएको छ:

पुराना कारहरू! सन् १९३० ताका काठमाडौंको लाजिम्पाटमा रहेको फोर्ड कार डीलर।#Nepal

काठमाडौं उपत्यका आधुनिकिकरणतर्फ लम्कदैं गर्दा देशको दक्षिणी भेग अझै घना जंगल थियो र शिकारी तथा शाही परिवारका अतिथिहरूका लागि स्वर्गतुल्य थियो। तलको तस्वीर बेलायती शाही परिवारको आतिथ्यमा आयोजना गरिएको एक ऐतिहासिक शाही शिकारको हो — यस दौरान कैंयन जंगली जनावरहरू मारिए।

डिसेम्बर १९११ मा त्यस दिनको शिकारका साथ राजा जर्ज पाँचौं। यस शिकारमा ३९ बाघ, १८ गैंडा तथा ४ भालु मारिएका थिए।#Nepal

सन् १९५१ सम्म लगभग १०४ वर्ष राणा वंशका प्रधानमन्त्रीहरूले सत्ता आफ्नो हातमा लिएका थिए। शाहवंशीय राजाहरूलाई उनीहरूकै शासनका दौरान नाममात्रका शासक बनाइएको थियो। शाहवंशीय शासन पनि सन् २००८ मा आएर अन्त्य भयो। यस तस्वीरमा चन्द्र शम्शेर जंग बहादुर राणालाई उनका भाइहरूका साथ देख्न सकिन्छ।

प्रधानमन्त्री चन्द्र शम्शेर जंग बहादुर राणा उनका भाइहरूका साथ सिंह दरबारमा – सन् १९०२

४० वर्षअघि मात्र बागमती नदी र यसका किनार सफा र दुर्गन्धविहिन थिए — आजकल जे छ त्यसको ठीक विपरित।

४६ वर्षअघि सन् १९६९ मा बागमती नदीका घाट, काठमाडौं। #Nepal(डगलस हलद्वारा खिंचिएको)

अहिले चारैतर्फ अग्ला भवनहरूले घेरिएको बौद्धनाथ स्तूप डुल्न, तथा प्रार्थना र ध्यान गर्न सर्वोत्तम स्थान थियो।

सन् १९५० मा बौद्धनाथ स्तूप, काठमाडौं #Nepal(विलियम मरिसद्वारा खिंचिएको)

संसारभरका झण्डा चारपाटे छन् भने नेपालको झण्डामात्र फरक प्रकारको छ। पहिला यो झण्डा कस्तो थियो, हेर्नुहोस्।

सन् १९६२ अगाडि नेपाली राष्ट्रिय झण्डा

टिकट संकलनकर्तामाझ नेपाली हुलाक टिकट प्रख्यात छन्, खास गरेर आजकल यी प्रथम हुलाक टिकटहरू पाउन कठिन छ।

कभरमा नेपालका प्रथम हुलाक टिकटहरू, सन् १८८१

सन् १९५० ताका नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधारभूत तथा कामचलाउ जस्तो देखिन्थ्यो।

सन् १९५० ताका शुरुवातको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

उड्डयन क्षेत्रमात्र नभई सडक परिवहन पनि प्रारम्भिक अवस्थामै थियो। यस तस्वीरले त्यसबेलाको यात्राको झझल्को दिन्छ।

सन् १९५० ताका #Nepalमा यात्रा

र ३० वर्षअगाडि मात्र काठमाडौं उपत्यकाको भक्तपुरमा खिंचिएको यस तस्वीरमा एक व्यक्तिले तरकारी तथा अन्य सामग्री बोक्न प्रयोग गरिने खर्पनमा आफ्नो बच्चा बोकेको देख्नसक्नुहुन्छ:

आफ्नो बच्चा बोकेको एक मानिस (कमल विनायक, भक्तपुर सन् १९८५)

नेपालको इतिहासमा अन्य परिवहनका साधनको तुलनात्मक रुपमा पछि शुरुवात भएपनि रोपवेको मामिलामा नेपालले नेतृत्व गरेको थियो। हाल सञ्चालनमा नरहेको तलको हेटौंडा-काठमाडौं रोपवे नेपालको परिवहन इतिहासमा अग्रणी थियो।

स्टीलका ट्रामवेले नेपालका डाँडा तथा जंगलको ६७ माइल दूरी घटाउँदछ। [हेटौंडा-काठमाडौं रोपवे सन् १९५९]#Nepal

विगतका नेपालका यस्तै चाखलाग्दा थप तस्वीरहरू हेर्न ट्वीटरमा नेपाल इन पिक्सलाई पछ्याउनुहोस्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.