सोनिया नारङद्वारा लिखित यो लेख मौलिक रूपमा अप्रिल २१, २०१६मा PRI.org मा प्रकाशित भएको थियो र यहाँ सामग्री-साझेदारी सम्झौताको आधारमा पुन: प्रकाशित गरिएको छ।
जब श्रीषा दुवालले मलाई काठमाण्डौबाहिर आफ्नो कुल घर भक्तपुरमा लग्छिन्, त्यहाँ मात्रै भ्वाङ परेको प्वाल र इँट्टाहरूको थुप्रो हुन्छ। त्यो बहुतले घर गत वर्षको भुकम्पका कारण भत्किएको थियो।
“यहाँ २० घरहरू थिए र यी सबै २० घरहरू ध्वस्त भएका छन्,” उनी भन्छिन्।
“यहाँ उभिंदा मेरो मुटु दुख्छ। अरु सबैको घर पनि भत्केको देख्दा मन खिन्न हुन्छ।”
किताबहरू र विद्यालयको पोशाकसहितका उनका अन्य लुगा कपडाहरू ढुंगा माटोले पुरेको छ।
६० घरपरिवारहरूका लागि बनेको शिविरमा टिनको छाना भएको झुपडीको एक कोठामा अहिले उनी आफ्नो बुवा, आमा, दाजु र हजुरबासँगै बस्छिन्।
अप्रिल २५,२०१५ मा नेपालका केही जिल्लाहरूमा गएको ७.८ म्याग्निच्युडको भुकम्पले शहर तथा गाउँहरू विनाश भएको लगभग १ वर्ष बितेको छ। यसले गर्दा ८,००० भन्दा बढी मानिसहरूको ज्यान गयो भने हजारौं घरबारविहिन भएका छन्। तर दुवाल परिवार जस्तै अन्य धेरै परिवारहरू पुनर्लाभका लागि कुरिरहेका छन्, जुन मुश्किलले शुरु भएको छ। नेपाल सरकारले अझै घरहरूको पुनर्निर्माणका योजना तथा कार्यक्रमहरू स्वीकृत गरेको छैन।
श्रीषाको शिविरमा धाराको खानेपानी छैन र तिनीहरू बाहिर खाना पकाउन बाध्य छन्, बेलुकाको खाना अँध्यारोमा बालेको दाउराको प्रकाशको मद्दतमा खान्छन्। छानाको लागि तिरपालसँगै भित्ताहरू कर्कट पाताले बनेका छन्। ऊनका डल्ला निस्किरहेको ठुलो झोलाको अगाडिको लामो तारमा लुगाहरू झुन्डिएका छन्। उनी र उनका आमा अतिरिक्त पैसाका लागि पन्जा बुन्ने काम गर्छन्।
श्रीषा आफ्नो झुपडीको वरिपरि दौडिने बिशाल मुसाको बारेमा ठट्टा गर्न मन पराउँछिन। “हामीले अहिलेसम्म धेरै मार्यौं,” उनी भन्छिन्। “तर केही हुँदैन जति हामी मार्छौं, त्यत्तिनै मात्रामा मुसाहरू अझै बाँकी छन् जस्तै देखिन्छ।”
यहाँ त मौसमबाट पनि कुनै बचाव छैन।
“यहाँ धेरै गर्मी छ,” उनी भन्छिन्। “आँधिहुरीको समयमा हावासँगै धुलो भित्र जान्छ र सानो हाम्रो कोठामा सबै फोहोर बनाउँछ। जब पानी पर्छ, पानी भित्र चुहिन्छ।”
उनी आफै बच्चा भएकोले टेलिभिजनले राम्रोसँग काम नगरेकोमा धेरै हैरान छिन्।
“जब हामी टिभी हेर्न खोज्छौं स्क्रिनको आधा भाग मात्रै चम्किन्छ,”उनले भनिन्। “त्यसैले म सोच्छु यसको के मतलब भयो र?”
आठ कक्षामा अध्ययनरत श्रीषा विश्वस्त र तेजस्वी छिन्, तर शिविरबाहिर कहिल्यै नरोकिने निर्माणकार्यको हल्लाले उनलाई पढ्न कठिनाई भएको पाउँछिन्।
जब उनी विद्यालयमा हुन्छिन्, अरु बच्चाहरूले घरविहिन भन्दै हेलाका साथ गिज्याउँछन्।
“तिमीसँग बस्ने घर पनि छैन,” तिनीहरु भन्छन्। “एउटा कोठामा कसरी बसिरहेका छौ?”
भुकम्पबाट विस्थापित मानिसहरूका लागि बनाइएको शिविर अस्थाइ हो, तर यहाँको सरकार पुनर्निर्माणको रकम वितरण गर्ने कार्यमा सुस्त भएको छ। बिडम्बना, श्रीषाको बुवा अन्य मानिसहरूको घर बनाउन पुरै दिन बिताउने एक निर्माणकार्य गर्ने कामदार हुन्। उनी जति थोरै यस कार्यबाट रकम कमाउँछन्, आफ्ना बच्चाहरूको विद्यालय शुल्क तिर्नमा प्रयोग गर्छन्।
“मेरो बिचारमा हामीहरू यहाँ लामो समयसम्म बस्नुपर्नेछ,” श्रीषा भन्छिन्।
श्रीषासँगको मेरो भेटको केही दिनपछि नेपाली नयाँ वर्षका लागि जम्मा भएका उनका विस्तृत परिवारसँग म पनि शामिल हुन्छु। उनीहरूले उनीहरूको पुरानो घरसँगैको छाडिएको घरको तेस्रो तल्लामा सानो अध्याँरो कोठामा लग्छन्। कोही हिंड्दा पनि भुंइ हल्लिने यहाँको अवस्था कमजोर छ, तर उनीहरू शिविर बाहिर कुनै पनि ठाउँमा नयाँ वर्ष मनाउन दृढसंकल्परत छन्।
हामी माउन्टेन डिउ सोडा पिउँछौं र सब्जीसँगै खाना पनि खान्छौ। उनीहरू प्रसन्नचित्तका देखिन्छन् र खानाको समय हाँसोले भरिएको हुन्छ। झ्यालबाट हेर्दा, तिनीहरूको छिमेक अझै बमले उडाएको युद्ध क्षेत्र जस्तै देखिन्छ।
मैले श्रीषालाई उनको दिमागमा के चलिरहेको छ भन्ने प्रश्न सोध्दा उनको उत्तर सिधा रहेको छ।
“एक दिन मेरो आफ्नै घर र आफ्नै कोठा हुने सपना छ, र यसले मलाई शक्ति दिन्छ,” उनी भन्छिन्।
नयाँ वर्षको खानापछि, श्रीषा, उनका बुवा र कजनहरूले उत्सवमय एतिहासिक संकिर्ण गल्लीका भुलभुलैया हुँदै उनको पुरानो घर नजिक लग्छन्। हामी भक्तपुरको प्रख्यात स्वादिष्ट मिठो दही “जुजु द्यौ” चाख्दै भजन सुन्न मन्दिरमा रोकिन्छौं।
यस बेला श्रीषा साँच्चै नै खुशी देखिन्छिन्।
सोनिया नारङले दक्षिण एशियाइ पत्रकार संघको सहायतामा नेपालबाट रिपोर्ट गरिन्।