अलेक्जेन्डर क्रीड र क्लिओ वार्नर को यो पोष्ट शुरुमा एन्सिया डट कम मा प्रकाशित भएको थियो। यस पत्रिकाले कार्यान्वित अन्तर्राष्ट्रिय पर्यावरण समाधान बारे प्रकाश पार्दछ र यो लेख सामग्री साझेदारी सम्झौता अन्तर्गत पुन:प्रकाशित गरिएको छ।
जब सानो इन्डोनेशियाली टापु सुम्बामा सूर्य अस्ताउँछ, दाङगा बेरु हबा उनको घरमा रहेको एकमात्र चम्किलो चिमको उज्यालोमा बुनाई शुरु गर्छिन् । उनको गाउँ काम्पुङ् कालिहीको वरपरका बारीमा बिहानदेखि साँझसम्मको कामले थकित भएतापनि उनले स्थानीय स्तरमा बेच्न बुनिरहेको सरोङ्ले उनलाई आफ्नो परिवारको निमित्त अतिरिक्त आम्दानी प्रदान गर्नेछ।
राति बुन्न सक्षम हुनु अझै पनि हबाको निम्ति एक नवीनता रहेको छ। गाउँ माथिको डाँडामा सानो विन्ड फार्म हुनाले उनको गाउँमा बिजुली केवल दुई वर्षसम्म थियो। विध्युतमा पहुँच हुनु भनेको सूर्यास्तपछि अब महिलाहरुले बुन्न सक्छन् र बालबालिकाहरु धेरै समय पढ्न सक्छन्।
“हामीले बिजुलीको सुविधा पाएपछि मैले बुनाई शुरु गरें। त्यसभन्दा पहिले मैले यस्तो गर्न सक्दिन थिएँ,” दोभाषेको सहयोगमा हबा भन्छिन्। “अहिले म मध्यरातसम्म बुन्न सक्छु।” फलस्वरूप उनले करीब २०० अमेरिकन डलर बचत गरेकी छिन्। उनका अनुसार यो रकम आफ्नो बालबच्चाको शिक्षामा खर्च गर्नेछिन्।
सुम्बा हजारौं द्वीपसमूहको राष्ट्र इन्डोनेशियाको एक पूर्णतया ग्रामीण, छरिएको आबादी भएको द्वीप हो। रुखो पहाडी भू-भाग र छरिएका बस्तीहरुका कारण सन् २०१० भन्दा पहिले यहाँका केवल २५ प्रतिशत बासिन्दाहरूलाई मात्र बिजुलीको पहुँच थियो। तैपनि लगभग ६ लाख ५० हजार मानिसहरु (इन्डोनेशियाको 0.२ प्रतिशत मात्र) बसोबास गर्ने यस द्वीपले, विश्वको चौथो ठुलो आबादी भएको र दक्षिणपूर्वी एसियाको सबै भन्दा ठूलो अर्थतन्त्र भएको देश इन्डोनेशियाकै लागि ऊर्जामा उदाहरण बन्ने लक्ष्य लिएकोछ। आइकनिक आइल्याण्ड सुम्बा (प्रतिष्ठित द्वीप सुम्बा) परियोजना नामक पहल अन्तर्गत अन्तर्राष्ट्रिय दाताहरु स्थानीय सरकारको योजना अनुरुप आगामी १० वर्षभित्र द्वीपका सबै बसिन्दाहरुका लागि नवीकरणीय स्रोतहरूको मात्र प्रयोग गरेर विध्युत ल्याउने काम गरिरहेका छन्।
यो एक महत्वाकांक्षी लक्ष्य हो, विशेष गरी हाल पेरिसमा भएको जलवायु परिवर्तन वार्तालाई विचार गर्दा समयानुकूल छ जहाँ नवीकरणीय ऊर्जालाई जलवायु परिवर्तनसँग जुँध्न सम्भावित रणनीतिको रुपमा प्रदर्शित गरिएको थियो र विकासको साधनको रुपमा यसले गरीब राष्ट्रहरुलाई मैलो ऊर्जा स्रोतहरूमा निर्भर धन कमाउने पहिलेको बाटो उछिन्न सहयोग पुर्याउँछ। अफ्रीकाले सन् २०३० भित्रमा नवीकरणीय ऊर्जाको मात्र प्रयोग गर्दै ३०० गिगावाट विध्युत उत्पादन गर्ने लक्ष्यकासाथ पुरै महादेशभरि विध्युतको व्यापक पहुँच प्रदान गर्ने योजनाको घोषणा गरेको छ। फ्रान्सले यस अभियानका निम्ति २ अरब अमेरिकन डलरको बचन दिएको छ।
इन्टरनेशनल रिन्यूवेबल इनर्जी एजेन्सी (अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी) द्वारा प्रकाशित रिपोर्टका अनुसार विश्वव्यापी ऊर्जा मिश्रणमा बढ्दो नवीकरणीय ऊर्जाको हिस्सा २०३०सम्म ३६ प्रतिशत (२०१० को दोब्बर) हुनेछ। यसले विश्वव्यापी कुल ग्राह्यस्थ उत्पादनलाई १.१ प्रतिशतले बढाउनेछ साथै स्वास्थ्य, शिक्षा र वातावरण गुणस्तर जस्ता कारकहरुले परिभाषित विश्वव्यापी मानव कल्याण (ग्लोबल हयुमन वेलफेयर) ३.७ प्रतिशतले वृद्धि हुनेछ।
एउटा समृद्ध द्वीप
सुम्बा, इन्डोनेशियाको धेरै भागहरु झै प्राकृतिक हावा, सौर्य र बगिरहने पानीको प्रचुरताले समृद्ध छ। सन् २००९ मा डच गैर सरकारी संस्था हिवोस ले यी स्रोतहरूले प्रदान गर्नसक्ने सम्भाव्यता महसुस गर्यो र सन् २०२५ सम्ममा नवीकरणीय स्रोतहरूको मात्र प्रयोग गरेर यस द्वीपलाई पूर्ण रुपमा विध्युतिकरण गर्ने सोच अनुरुप एउटा योजना तयार गर्यो। “नवीकरणीय ऊर्जामा पहुँच भएमा दुर्गम र उजाड क्षेत्रहरुमा पनि गरिबी घटाउन सकिन्छ भन्ने कुरा देखाउन” हिवोसले प्रतिष्ठित द्वीप सुम्बा परियोजना आरम्भ गर्न सहयोग गर्यो।
परियोजना शुरु भएपछिका वर्षहरुमा सुम्बाले यस द्वीपको आधाभन्दा बढी भागमा विध्युतिकरण गरेको छ। हिवोसको अतिरिक्त, इन्डोनेशियाली एनजीओ इबेका, एसियाली विकास बैंक र जकार्तास्थित नर्वेजिएन दूतावाससँगसँगै इन्डोनेशियाको स्थानीय र राष्ट्रिय सरकार सबै यस परियोजनामा संलग्न भएका छन्।
“पूर्व सुम्बामा अहिले हामीसँग हरेक प्रकारको नवीकरणीय ऊर्जा छ। हामीसँग सौर्य, हावा, पानी र बायोग्यास छ,” दोभाषेको सहयोगमा पूर्व सुम्बाका स्थानीय सरकारका ऊर्जा र खानी विभाग प्रमुख डनिएल लालुपन्डा भन्छन्।
लोकप्रिय पर्यटक गन्तव्य बालीदेखि मात्र दुई घण्टाको हवाई दूरीमा भएपनि सुम्बा पर्यटनमा पूर्णतया अछुतो रहेको छ। द्वीपका बासिन्दाहरु मुख्यतया टिनका छाना भएका ब्लक संरचना र खडा गरिएका काठका झुपडिमा बस्छन्। उनीहरु छरिएर बसेका छन्, सामान्यतया सानो, खेतीमा निर्भर ग्रामीण बस्तीहरुमा जहाँ बिजुली पुर्याउन पूर्वाधारको कमी छ। खर्च गर्न सक्ने हैसियत भएकाहरुले बिगतमा पकाउन र उज्यालोको लागि मैलो र खतरनाक इन्धन मट्टीतेलमा भर पर्नुपर्दथ्यो।
विश्वव्यापी स्थिर समुदाय विकास गर्न समर्पित नाफारहित संस्था हिवोस र वीनरक इन्टरन्यासनलद्वारा सन् २०१० मा गरिएको अनुसन्धान, अनुसार “हावा, जलविध्युत र बायोग्यास देश भर पाइन्छन्।” यी संस्थाहरुले सुम्बाको मूल्यांकन गरेका थिए। “उम्मेद्वार द्वीपहरु” लाई ध्यानमा राख्दै र सुम्बा साथै अर्को एक द्वीपमा एक गहन विश्लेषणपछि “प्रतिष्ठित द्वीप अवधारणा” लागू गर्न सुम्बा उत्कृष्ट प्राविधिक र संस्थागत सम्भावना भएको द्वीप हुनाले उपर्युक्त छ भनी हिवोस र वीनरकले निर्णय गरे।
अन्तर्राष्ट्रिय समुदायले हिवोसको अवधारणालाई सकारात्मक रुपमा लिन धेरै समय लागेन। सन् २०१२ को अन्त्यतिर एसिया तथा प्रशान्त क्षेत्रमा गरिबी निवारण र दिगो विकास प्रोत्साहन को काम गर्ने एसियाली विकास बैंकले सुम्बामा विध्युत लगायत नवीकरणीय ऊर्जामा पहुँच वृद्धि गर्न १० लाख अमेरिकन डलरको प्राविधिक सहायता दिने प्रतिज्ञा गर्यो । यस्तै गरी जकार्तास्थित नर्वेजियन दूतावासले सुम्बालाई प्राथमिकतामा राखेर दक्षिणपूर्वी इन्डोनेशियामा नवीकरणीय ऊर्जामा पहुँच वृद्धि गर्न करीब १० लाख अमेरिकन डलर दिने प्रतिज्ञा गर्यो।
“हामीसँग नवीकरणीय ऊर्जाको धेरै सम्भावना छ, विशेष गरी सौर्यको,” लालुपन्डा भन्छन्। उनी भन्छन् यस्ता बाहिरी निकायहरूको सहयोग अत्यन्त महत्वपूर्ण छ।
स्थानीयसँग सम्झौता
प्रतिष्ठित द्वीप सुम्बा परियोजनालाई इबेकाको सहयोगमा मजबुत पारिएको छ, जसले सुम्बामा लघु जलविध्युत परियोजना निर्माणको निमित्त कोष तथा प्राविधिक सहयोग उपलब्ध राएको छ। इबेकाले सुम्बानिज् नागरिकहरुलाई प्रविधी प्रयोगका लागि तालिम पनि प्रदान गरेको छ। तालिमले स्थानीयहरुलाई ऊर्जा उत्पादन केन्द्रको रेखदेख गर्न सक्षम बनाउने र परियोजनामा प्रत्यक्ष संलग्न साथै यसको सफलतामा निवेशको आशा लिएको छ।
क्रिश्चियन रीहिमेह कमङ्गिह गाउँमा एक लघु जलविध्युत केन्द्रको रेखदेख गर्छन्। उनी भन्छन् निर्माण अवधिमा बाँकी गाउँले पहाडी ईलाका खनेर परियोजनामा काम गर्यो। यस कामका लागि १० महिना लाग्यो। केन्द्रले अहिले ३७ हजार वाट विध्युत उत्पादन गर्छ, यो उर्जा गाउँका ३२६ घरधुरिलाई पर्याप्त हुन्छ। रातको समयमा केन्द्रको विध्युत शक्तिको माग धेरै हुने गर्दछ। वास्तवमा, दिउँसोको समयमा विद्यालयले मात्र कम्प्युटर लगायत अन्य कामका लागि विध्युत खपत गर्दछ। तर रातको समयमा, प्राय: सबै गाउँलेहरुले बुन्नलाई या बालबालिकाहरु पढ्नको निम्ति बत्ती बाल्दछन्।
“आजभोलि दिगो विध्युतमा सधैं हाम्रो पहुँच छ, म मेरो पसल राति केही बढी समयसम्म खोल्न सक्छु,” अनुवादकको सहयोगमा कमङ्गिह्का निर्वाचित प्रमुख ऊम्बु विन्दी अन्दापाङगादुङ भन्छन्। “मेरी श्रीमती केक बनाउन ब्लेन्डर प्रयोग गर्न सक्छिन् र छोराछोरीले उनलाई मद्दत गर्न सक्छन्।”
इन्डोनेशियाको राज्य नियन्त्रित ऊर्जा सेवा संस्थानले कमङ्गिह केन्द्रले उत्पादन गरेको विध्युत खरिद गर्दछ र पुन: गाउँलेहरुलाई पूर्वनिर्धारित शुल्कमा बिक्री गर्दछ। एक स्थानिय को-ओपरेटिभ, कोर्पोरासी पेदुली कसिहले केन्द्रको विध्युत विक्रीको प्रबन्ध गर्दछ र आएको नाफालाई पुन: समुदायमा लगानी गर्दछ। यसरी आएको पैसालाई स्वच्छ पानी र स्थानीय पशुको गोबरबाट जैविक मल उत्पादन गर्ने कार्यक्रमहरुका लागि लगानी गरिएको छ। जैविक मल बिक्री गर्न पनि सकिन्छ।
“हामीकहाँ बिजुली हुनुभन्दा पहिले यस समुदायका मनिसहरुलाई सशक्तिकरण गर्न धेरै कठिन थियो,” अन्दापाङगादुङ भन्छन्। “आजभोलि विध्युत शक्ति भएकोले उनीहरु समुदायका कार्यक्रमहरुमा संलग्न हुन रुची देखाइरहेका छन्।”
समस्या छँदैछ
अहिलेसम्म कमङ्गिह्मा जलविध्युत केन्द्र राम्ररी चलिरहेकोछ र रीहिमेह दावी गर्छन् यदि उनलाई मर्मतको सहयोग चाहिएमा उनलाई मद्दत गर्न सरकारले विशेषज्ञ पठाउनेछ। तर कमङ्गिह बाहिर एक हराभरा उपत्यकातिर फर्केको फाँटमा अवस्थित चार साना टर्बाइनले बनेको एक लघु वायु केन्द्र छ। चार वटै हावामा स्वतन्त्र रुपले घुम्छन् – तर केहीका लागि ऊर्जा दिंदैनन्, इबेकका स्थानीय प्रतिनिधि पेत्रुस लाम्ब अवाङ भन्छन्।उनी भन्छन् ,केही प्रणालीका भागहरु फुटेका छन्, स्थानीयहरुलाई कसरी मरमत गर्ने भन्ने थाहा छैन - सुम्बा जस्तो ठाउँमा (जहाँ कहीं पनि पुग्नलाई धेरै कम सिधा बाटा छन्) प्रविधि कायम राख्ने चुनौतीको एउटा उदाहरण । धेरै गाउँहरु एकान्तमा छन्, अरु केही वा कोहीदेखि कोसौ टाढा ,अनि भिरालो, असमान र मरमत नभएको सडकले मात्र जोडिएका।
माइकल क्रिस्तेन्सेन, सम्पूर्ण विध्युत विन्ड टर्बाइनद्वारा उत्पादन गर्नेडेनिस द्वीप साम्सोस्थित इनर्जी एकेडेमीका नवीकरणीय ऊर्जा सम्बन्धी एकजना ऊर्जा सल्लाहकार तथा परियोजना प्रबन्धक भन्छन् — यस्ता चुनौतिहरु अपेक्षित हुनुपर्छ। क्रिस्तेन्सेन सुम्बा परियोजनामा संलग्न छैनन् तर साम्सोमा नवीकरणीय ऊर्जा परियोजना विकास गर्न उनले सहयोग गरे। “यो एक लामो प्रकृया हो र जब तपाईं अगाडि बढ्नुहुन्छ, तपाईंले सिक्नुहुनेछ,” उनी भन्छन् । “केही अवस्थामा बाह्य सहयोग पनि लिनुपर्ने हुन्छ। हामीले [ डेनमार्कमा ] परियोजना गर्दा विशेषज्ञ परामर्शको निमित्त सधैं पैसा छुट्याएर राख्थ्यौं।”
इन्डोनेशियाली ऊर्जा तथा खनिज स्रोत मन्त्री सुदिरमान सइदले प्रतिष्ठित द्वीप सुम्बा परियोजनालाई सार्वजनिक रूपमा समर्थन गरेका छन्, तर सुम्बामा कार्यरत केही इन्डोनेसियालीहरु सइद र उनले प्रतिनिधित्व गरेको राष्ट्रिय सरकारले यस पहलको निम्ति पर्याप्त योगदान गरिरहेका छैनन् भन्ने ठान्छन्। मन्त्री स्पष्टवादी भएका छन् तर पर्याप्त क्रियाशीलता लिएका छैनन्, स्थानीय दावी गर्छन्।उनीहरु द्वीपको लक्ष्य प्राप्तिका निमित्त अझ धेरै पैसा र तालिम प्राप्त कर्मचारीहरु सुम्बामा आएको हेर्न चाहन्छन्।
“यसलाई सम्भव गर्नका निम्ति सरकारले खासै प्रयास गरेको छैन,” अन्दापाङगादुङ भन्छन्। “यदि सरकारले हामीलाई सहयोग गरेमा हामी सन् २०२५ सम्ममा हाम्रो लक्ष्य पूरा गर्न सक्नेछौं। म सरकारी रबैयाको बारेमा चिन्तित छु।”
द्वीपहरुको भू-भाग र पृथक गाउँहरुको कारणले गर्दा, सबै बासिन्दाहरुलाई विध्युत उपभोगका लागि पावर लाइन स्थापना गर्न अमेरिकन डलर २२ हजार प्रति किलोमिटर ( ०.६ माइल ) लागत पर्न जाने इन्डोनेशियाली राष्ट्रिय ऊर्जा सेवा संस्थानले अनुमान गरेको छ। सुम्बामा केन्द्रीय विध्युत शक्ति सेवा संस्थान स्थापना गर्ने विचार एजेन्सीको लागि धेरै महँगो पर्नेछ। यद्यपि विकेन्द्रीकृत प्रकृतिका सानो क्षमताका नवीकरणीय परियोजनाहरूका लाइनहरु खास क्षेत्रहरुमा मात्र स्थापना गरिएको हुनाले यो समस्यालाई परास्त गर्न सकिनेछ।
“जब तपाईंकहाँ पहिले नै विध्युतको पूर्वाधार छैन, तब समस्या हुनेछ र काम चाँडो नहुन सक्छ। ग्रिड आफ्नै तालमा विस्तार हुनेछ, निश्चय नै यो महँगो छ साथै यसो गर्ने प्रकृया धेरै गाह्रो छ,” क्रिस्तेन्सेन भन्छन्।
सुम्बाले नवीकरणीय ऊर्जामा चासो लिइरहेका साम्सो सहित अन्य साना द्वीपहरुका उदाहरण पछ्याउन सक्छ। संयुक्त राज्य अमेरिकामा, द्वीप राज्य हवाईले सन् २०४५ सम्ममा नवीकरणीय स्रोतहरुको मात्र प्रयोग गरेर विध्युत उत्पादन गर्ने लक्ष्य लिइरहेको छ। तर यी द्वीपहरु सरकार र स्थानीय नागरिकका आर्थिक स्रोतहरू लगायत महत्त्वपूर्ण तरिकाले सुम्बाभन्दा फरक छन्। साम्सोमा नवीकरणीय ऊर्जाको लागि केही स्थानीय नागरिकले पहल गरेका थिए र धेरै जसो विन्ड टर्बाइनहरु स्थानीय व्यक्तिको स्वामित्वमा छन्। क्रिस्तेन्सेनका अनुसार सबैजना निर्णय प्रक्रियामा सहभागी हुन्छन्। हवाईले आफ्नो नवीकरणीय ऊर्जा लक्ष्यका लागि जनादेश पारित गरेको छ।
पर्याप्त स्रोत वा बलियो समर्थन बिना सुम्बा द्वीप परियोजनाले समयसीमाभित्र आफ्नो लक्ष्य भेटाउन संघर्ष गर्नेछ भन्ने क्रिस्तेन्सेन लगायत धेरैले सोचेका छन्। “लक्ष्यमा पुग्न कठिन हुनेछ,” उनी भन्छन्।
तैपनि परियोजनामा संलग्न भएकाहरुले आफ्ना आशा जीवितै राखिरहेका छन्। इन्डोनेशियामा प्रतिष्ठित द्वीप सुम्बा परियोजना जस्तो कहिले पनि बनेको थिएन त्यसैले सरकारले अनुसरण गर्ने कुनै सूत्र छैन, न कि परामर्श गर्न कुनै बजेट। सुम्बामा सबैका लागि विध्युत सेवा प्रदान गर्न कति पैसा या प्रयास लाग्नेछ भन्ने कुरा कसैलाई पनि सही ज्ञान छैन, खासगरी सबैभन्दा पृथक क्षेत्रहरुमा अवस्थित ती स्थानहरुमा। तथापि सुम्बामा परियोजना चालू भैरहेको छ। यदि यस विकट द्वीपले आफ्नो लक्ष्य पूरा गर्न सकेमा बाँकी विश्वको निम्ति यो एक मोडेल बन्नेछ।
यो समाचार विवरण अन्तर्राष्ट्रिय समाचार प्रदायक राउन्ड अर्थ मिडियाको सहयोगमा तयार पारिएको थियो । यो रिपोर्टिंग गर्न क्लिओ वार्नर र निनिक युनिअतिले योगदान गरेका थिए।