यस दुई भागको श्रृंखलामा, केन्याका युवा आवाज आफ्नो संघर्ष र आशा सेयर गर्छन्, जब विनाशकारी खडेरी व्याप्त भएको होर्न अफ अफ्रिकामा असामान्य भारी वर्षा भयो। यहाँ इतिहासकै कुनै पनि समय भन्दा अहिले बढी गर्मी छ ।
यस श्रृंखलामा प्रमाणहरु ३५० डट ओआरजी को क्लाईमेट इम्प्याक्ट प्रोग्रामद्वारा संकलित गरिएका थिए। यस संगठनले भू-मण्डलीय जलवायु अभियान चलाइरहेकोछ र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौता अन्तर्गत प्रकाशित गरिएको छ।
दोस्रो भाग पर्यावरण संरक्षणका विद्यार्थी उनेल्कर माओगाले लेखेका हुन्। पहिलो भाग यहाँ हेर्नुहोस्।
पछिल्ला केही दशकयता केन्यालीहरुले परिवर्तनका लागि तीव्र चाहना राखेका छन्, परिवर्तन सरकारी अभ्यासहरूमा, परिवर्तन विकास रणनीतिमा, परिवर्तन राष्ट्रिय मुद्दाहरूमा। अहिले हाम्रो देशले नजिकै क्षितिजमा एउटा फरक प्रकारको परिवर्तन अनुभव गरिरहेकोछ। आमूल, अनपेक्षित परिवर्तन; हामीले नचाहेको परिवर्तन: जलवायु परिवर्तन।
आज केन्यामा म लगायत धेरै जना ‘'भोकमरीले १४ जनाको मृत्यु'’ जस्ता अखबारका शीर्षकहरूसँग पूर्णपरिचित भएका छौं ; ६० प्रतिशत स्थानीयले खाद्य असुरक्षाको सामना गर्नुपरेपछि साम्बुरुका गभर्नरद्वारा आपतकालीन अवस्था घोषणा गरियो।उनका आफ्नै शब्दहरू : “हामी यो खडेरीमा बाँच्ने छैनौ।”
इतिहासमा पहिलो पटक भोई काउन्टी स्थित दक्षिणी भोई नदी सुकेको छ। स्थानीय मानिसहरु आफ्नो बारीमा सिंचाई गर्न असमर्थ भएका छन् यहाँसम्म कि अब भोजनको आशा पनि अस्तित्वहीन छ। परिस्थिति सम्बोधन गर्न सहयोगको निम्ति राष्ट्रिय सरकारलाई अपील गरिएको छ। त्यही समयमा, किसान घाटा उठाइरहेका छन् जब कि गोठालाहरु आफ्ना चौपाया मरेको हेर्न विवश छन्।
म केन्याको पश्चिमी भागको किसी काउन्टीमा हुर्के। यस क्षेत्रले मुख्य रुपमा केन्याको फलफूल बास्केटमा योगदान दिन्छ, तर हामीले पनि वर्षाको अभाव देखेका छौं। सन् १९७० तिर मेरो परिवारले मेरो हजुरबुवाको स्वामित्व भएको जग्गा भित्र एउटा बाँध बनायो। मैले थाहा पाएदेखि त्यो बाँध त्यही छ, तर पछिल्ला दुई वर्षमा देशभरको मौसम ढाँचाले यो जलाशयमा ढुक्कसँग भर पर्नु हुँदैन भन्ने कुरा हाम्रो परिवारलाई सिकाएको छ। अहिले हामी दोस्रो चरणको सुक्खापन अनुभव गर्दैछौं, र भविष्य अनिश्चित छ।
पानी एक आधारभूत आवश्यकता भन्दा दुर्लभ वस्तुको रुपमा पुनःपरिभाषित गर्न केन्या बाध्य भएको छ। म लगायत मेरा सहयात्री सदस्यहरुमा कुन कुराको सबैभन्दा डर छ भने समस्या समाधान गर्नको निम्ति हाम्रो असमर्थता। धेरै हदसम्म, जलवायु परिवर्तनलाई कम गर्ने सामर्थ्य हामीसँग छैन।
उत्तरी केन्या स्थित अजवाको सम्पूर्ण जनताहरु विकासका मुद्दाहरुमा ध्यान दिनुभन्दा पानी आपूर्तिको बारेमा चिन्तित हुँदै प्राय आफ्ना दिन बिताउँछन्। अत्यन्त “आधारभूत आवश्यकता” हामी पानी भन्छौं यो बाहेक अन्य कुनै पनि कुराको महत्व नभएको जस्तो देखिन्छ। समुदायका सदस्यहरु घन्टौ टाढाको सबभन्दा नजिक पर्ने बोरहोलसम्म पैदल हिडछन्, त्यसपछि ३० मिटर तल गुफाजस्तो इनार मा ओर्लन्छन् झीसमिसे उज्यालो नहुँदै आफ्नो चौपायालाई पानी ल्याउनको लागि। पानी लिन जाँदा जंगली जनावरको आक्रमणमा परिसकेकाहरू यो इनारदेखि टाढा रहन चाहन्छन्। पानी ल्याउनको लागि टाढासम्म हिंड्नु पर्ने बाध्यताले गर्दा महिलाहरुमा गर्भपातको समस्या पनि देखिएको छ।
हाम्रो प्रदेश सरकारले विशेष गरी वजिरमा गोठालोहरुका क्रन्दन सुन्यो र खडेरीले हुने चौपायाको मृत्यु कम गर्नको निमित्त उनीहरुलाई सयौं हजारौको संख्यामा पशुको व्यवस्थापन गर्न मद्दतका लागि भेटेरिनरी कार्यालयहरुमा आर्थिक सहायता दियो। उपयोगी भएतापनि यी प्रयास ज्यादै कम भएको देखिन्छ र ज्यादै ढिलो किनभने सूर्यको तापले केन्याको धेरै प्रतिशत जमीन लगातार सुक्खा बनाउँदैछ।
केन्याको अर्थव्यवस्थामा हरेक वर्ष खडेरीले १४ अर्ब केन्याली शिलिंग नोक्सान पुर्याउछ; सन् २०१५ मा मात्र राज्यले ३ प्रतिशत कुल ग्राह्यस्थ उत्पादन गुमायो। १ करोडभन्दा बढी मानिसहरु अनिकालको असरबाट पीडित छन् र अवस्था झन नाजुक बन्दैछ। हजारौंले जीवन गुमाएका छन् र अझै पनि समाधान भेटिएको छैन। गम्भीर अनिकालबाट भाग्न होर्न अफ अफ्रीकादेखि दशौं लाख दक्षिणमा रहेको हाम्रो देशतिर पलायन हुँदैछन् । तर अहिलेसम्म हामीले पनि उनीहरु जोगिन खोजेको जस्तै अवस्था भोगिरहेका छौं।
जब जलवायु परिवर्तनको वास्तविकता हामी सामु स्पष्ट हुँदै जादा, हामीले वार्ता फलदायी हुनेछ भन्ने आशाका साथ पेरिस पक्षका २१ औं सम्मेलन अवलोकन गर्याै। विश्वव्यापी उत्सर्जन घटाउन १९५ देशहरुले गरेका सामूहिक निर्णयको विश्वका नेताहरुले सराहना गरेका हामीले सुनेका छौं। २ डिग्री सेन्टिग्रेड तापमान बढ्न नदिन मात्र हैन कि १.५ डिग्रीमा सीमित गर्ने संकल्प गरेका छन्। हामी सुरुआतमा भएपनि यसले एकदिन जीवाश्म ईंन्धनको प्रयोग अन्त्य गर्नेछ भन्ने आशा लिएका छौं।
साथै जब हामी होर्न अफ अफ्रीकामा पानीको स्रोत खोजीमा हाम्रो यात्रा जारी राख्छौं र वर्षाको लामो प्रतिक्षा गर्दै आकाश तिर हेर्छौं, हाम्रो निवेदन यो छ कि संयुक्त राष्ट्रसंघका महासचिव बान की- मूनका शब्दहरु कहिले पनि बिर्सन सकिन्न:
… राष्ट्रिय चासोको उत्तम समाधान विश्वव्यापी चासो र एक्यबद्धताद्वारा गर्न सकिन्छ भनेर स्वीकार गर्ने समय आएको छ। प्रकृतिले जरुरी संकेतहरु पठाइरहेकी छिन्, मानिसहरु र राष्ट्रहरुले यस्तो खतराको महसुस पहिले कहिले पनि गरेका थिएनन् …. हामीलाई बचाइराख्ने ग्रहको रक्षा गर्नु आवश्यक छ, यसका लागि हामी सबैको हातहरु एकै ठाउँमा हुनु जरुरी छ।