यस दुई भागको श्रृंखलामा, केन्याका युवा आवाज आफ्नो संघर्ष र आशा सेयर गर्छन्, जब विनाशकारी खडेरी व्याप्त भएको होर्न अफ अफ्रिकामा असामान्य भारी वर्षा भयो। यहाँ इतिहासकै कुनै पनि समय भन्दा अहिले बढी गर्मी छ ।
यस श्रृंखलामा प्रमाणहरु ३५० डट ओआरजीको क्लाईमेट इम्प्याक्ट प्रोग्रामद्वारा संकलित गरिएका थिए। यस संगठनले भू-मण्डलीय जलवायु अभियान चलाइरहेकोछ र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौता अन्तर्गत प्रकाशित गरिएको छ।
प्रथम भाग कलाकार के सेभनले लेखेका हुन्, उनी तान्जानिया सीमा नजिकैको कजीअदो काउन्टीका हुन्।
मुख्यतया यहाँको अनौठो पर्यावरणीय जलवायु अवस्थाको कारणले गर्दा केन्या खडेरीको चपेटामा पर्न सक्ने राष्ट्र हो। वर्षाको ढाँचा, विशेष गरी वर्षा नहुनु या अनियमित वर्षा प्राय प्राकृतिक प्रकोपको कारण हो। यहाँ ग्रामीण जीविका अनुकूलनका लागि लगातार संघर्षरत छन्।
उत्तर-पूर्वी भागमा अवस्थित नभए तापनि, सामान्यतया सबैभन्दा खडेरी र बाढीबाट प्रभावित, कजीअदो काउन्टीले यो वर्ष एल निन्यो घटनाको कारण औसतभन्दा बढी वर्षाको सामना गर्नु पर्यो। गम्भीर सुक्खा अवस्थापछि, हामी हाम्रो जिल्लामा वर्षाको अनुभव गर्न थाल्यौं। वर्षा वृद्धि भएसँगै हामी हाम्रा बाली राम्रो तरिकाले बढ्नेछन् भन्ने आशा गरिरहेका छौं। यद्यपि, हामी चिन्तित छौं कि ज्यादै धेर वर्षाले हाम्रो बालीमा भयानक क्षति पुर्याउन सक्छ।
गत वर्ष केन्याको मौसम विज्ञान विभागले पूर्वी अफ्रीकी देशहरूको भागहरुमा अक्टोबर – डिसेम्बर वर्षायाममा एल निन्योको कारण औसत भन्दा धेरै वर्षा हुने चेतावनी दियो। बाढी जान सक्ने क्षेत्रहरु र तटीय तल्लो भू-भागहरुका निम्ति भारी वर्षा विपत्तिजनक थियो तर निश्चित रुपले सुक्खा खेत र देशको पश्चिमका ग्रामीण समुदायहरुको निम्ति भने उपयोगी थियो।
पूर्वी अफ्रीकनहरु र होर्न अफ अफ्रिकाका ठूलो समुदायले यस वर्ष पहिलेदेखि नै मुसलधारे वर्षा र खडेरीको सामना गरेका छन्। यसलाई विशेषज्ञहरुका अनुसार विकसित भैरहेको एल निन्योसँग जोडेर हेर्न सकिन्छ । यसैबीच, उत्तरपश्चिमी तान्जानियामा बाढीले दर्जनौंको मृत्यु र सयौं सुकुम्बासी बनेका छन्। खराब मौसमले पशु पनि मरे साथै मकै र कपासको बाली नष्ट भए।
केन्या,इथोपिया,दक्षिण सुडान,तान्जानिया र सोमालियामा केही समुदाय अझै पनि अघिल्लो एल निन्योको घटनाहरुबाट सामान्य अवस्थामा फर्किन सकेका छैनन्, खासगरी १९९७-१९९८ मा जसले अन्दाजी २००० मानिसहरुलाई शिकार बनायो र पशु रोग फैलन व्यापक मात्रामा मद्दत गर्यो। २०११-२०१२ मा पनि होर्न अफ अफ्रिका तीब्र खडेरीको मारमा परेको थियो जसले गम्भीर खाद्य असुरक्षा बढायो अनि १ करोडभन्दा बढी मानिसको जीवन खतरामा पर्यो। एक अनुमान अनुसार २ लाख ६० हजार मानिसको सोमालियामा अनिकालले मृत्यु भयो। ती मध्ये आधा बालबालिका थिए र उक्त क्षेत्र सोमालियाको सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमध्ये एक थियो।
नियमित तवरमा चरम मौसमी घटनाहरूको प्रभावको संपर्कमा आउने र बारम्बार एल निन्योको असर परिरहने क्षेत्रमा स्थानीय मानिसहरुले आफ्नो उत्थानशीलता बढाउनका निमित्त पर्याप्त पूर्व तयारी गर्न जरुरी छ। यो जनसंख्याको करीब ८० प्रतिशत ओगट्ने किसान र गोठालो समुदायका अस्तित्वको सवाल हो। उनीहरुको भलाई र आय मौसमी ढाँचामा नभई धेरै हदसम्म स्थिरतामा निर्भर गर्दछ।
“”हामी किटाणुजन्य रोग, कुपोषण र अनिकालका कारण जवानहरु गुमाइरहेका छौं। जब हाम्रो अर्थव्यवस्था नराम्ररी प्रभावित हुन्छ खाद्य सुरक्षामा झन झन जोखिम बढ्छ। सबभन्दा खराब, लामो अवधि खडेरीको कारण दुर्लभ स्रोतहरूका लागि लडिरहेका किसान र गोठालाबीच पटक-पटक द्वन्द बढाउँछ।” - के सेभनका गीतबाट लिइएका शब्दहरू
संकट बीचमा, स्थानीय सरकारले खडेरी प्रभावलाई रोक्न र अति प्रभावित समुदायलाई सहयोग गर्न श्रृंखलावद्ध रणनीति ल्याएको छ। काउन्टीहरुमा खाद्य भण्डारण कार्यक्रम, साक्को (किसानलाई खेती शिक्षा र तालिम दिने संरचना) भनिने सानो समूहको गठन, आधुनिक सिंचाई र वृक्षारोपण कार्यक्रम ती रणनीतिमा समावेश छन्।
यी प्रयासहरुबाट अहिलेसम्म अनुभव गर्नसकिने गरी केही नभए तापनि समुदायले आशा गर्न छाडेका छैनन्। यस्ता प्रकोपको सामना गर्न र अझ बलियो र उत्थालशील समुदाय निर्माण गर्न तिनीहरु क्रियाशीलता र तलैदेखि एकजुट हुनुपर्ने कुरामा विश्वास गर्छन्। साथै सबैका लागि खाद्य सुरक्षाको प्रत्याभूति अनि खडेरी र अनिकालरहित पर्यावरणीय जीवन पुनस्थापित गर्नुपर्ने कुरामा विश्वास गर्छन्। हुनत चुनौती अझै पनि ठुलो छ। कजीअदो समुदायले प्रकोपसँग जुध्न जीवाश्म ईंन्धनको विकास रोक्दै नविकरणीय उर्जाको प्रयोग गर्ने निर्णय गरेको छ। मेरा गीतका शब्दमा:
जो कोही गर्भमा आउनेलाई उनीहरु जन्मेपछि बाँकी जीवन बिताउन एउटा उपयुक्त ठाउँको सुनिस्चितता गर्ने हाम्रो उत्तरदायित्व हो। हामी हाम्रो समुदायप्रति उत्तरदायी हुँदै अनिकाल, बाढी वा अन्य जलवायुको असरका कारण हुने मृत्युदरमा कमी सुनिस्चित गर्न सक्छौं । आउनुहोस् हातेमालो गरौं, हामी गर्न सक्छौं … यदि हामीले हातेमालो गरे हामी गर्न सक्छौं।
Mwenda tezi na Omo, Marejeo ni Ghamani [ स्वाहिली भाषामा, अर्थ ‘हामी हाम्रो समस्याहरुदेखि सकेजति भाग्न सक्छौं, तर हामी सधैं पछि पर्नेछौं किनभने हामीले समस्या समाधान गर्न ध्यान दिएनौं’ ]।